इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

पाल्पा | पुस ८, २०८१

इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु

पाल्पा:     इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ । 


कार्यालयमा यही पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थप गरिएको थियो । तर कर्मचारी अभावमा काम गर्न समस्या भएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताउनुभयो । 


उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भए पनि हामीले निकै कष्टका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसँग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ ।” 


राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर कार्यालयमा हाल एउटा मात्रै कम्प्युटर छ । कार्यालयमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, दुई खरिदार, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ । 


तर हाल १ कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुईजना कार्यालय सहयोगी, एक सरसफाइ कर्मचारी कार्यरत छन् । 


रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट यही पुस ३ गतेदेखि एकजना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ । 


कार्यालयमा दैनिक औसत एक सयजना सेवाग्राही आउने गरेका छन् । अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको कार्यालयले जनाएको छ ।


रामपुर–४ भीमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताउनुभयो । कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिनुभएकी केसीले खुसी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहल गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । 


“सानो बच्चाका कारणले राहदानी बनाउन सदरमुकाम तानसेन जान सकिरहेकी थिइन्,  अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो” उहाँले भन्नुभयो ।


यही पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो । 


नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाउनुभयो ।


रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ बराबरको लागतमा गत असारमा भवन निर्माण सम्पन्न भएको हो । 


आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।सेवा विस्तारसँगै राहदानी र राष्ट्रियपत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ । 


कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विसं २०७३ मा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो । 
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्